काठमाडौं । अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख २८ गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रश्तुत गर्नेगरी कार्य तालिका बनाएर प्रश्ताव गरेको हो ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आगामी वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत हुने बताए । सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रश्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रम माथि वैशाख ३० गते छलफल हुने संशोधन प्रश्ताव निर्णयार्थ प्रश्तुत हुने कार्यतालिकामा राखिएको छ । साथै वैशाख ३० गते नै नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्ने तालिकामा उल्लेख छ । कार्यतालिकामा नीति तथा कार्यक्रममाथि सांसदहरुले आफ्नो धारणा राख्ने समय खुम्च्याएको छ ।
यस्तै, सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) प्रश्तुत गर्ने प्रवक्ता गिरीले जानकारी दिए । सामान्यतया नीति तथा कार्यक्रम प्रश्तुत गर्नुअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रश्ताव बाहेक) छलफल गराउनुपर्ने हो तर सरकारले अधिवेशन बोलाउन ढिलो गरेकोले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले पनि उल्टो काम देखिने गरी कार्यतालिका बनाएको छ ।
कार्यतालिकाअनुसार वैशाख ३१ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रश्ताव बाहेक) छलफल शुरु हुनेछ । यस्तै प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीको मस्यौदामा वैशाख ३१ गते छलफल गर्ने कार्यतालिका रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षण जेठ १३ गते प्रतिनिधि सभामा पेश गरिने भएको छ भने कार्यतालिकाअनुसार जेठ १८ र १९ गते बजेटमाथि सामान्य छलफल हुनेछ । जेठ २० गते अर्थमन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने र विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रवक्ता गिरीकाअनुसार असार २ गते विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत गरिने र पारित गर्ने लक्ष्य राखिएको छ । यस्तै असार ३ गते आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत हुनेछ भने असार ८ गते यी विधेयकहरूलाई दफावार छलफल गरी पारित गर्ने योजना रहेको छ ।
प्रतिनिधि सभाले वैशाख २८ गतेदेखि असार ८ गतेसम्म गरिने संसदीय कामलाई समेटेर कार्यतालिका बनाएको छ ।
प्रवक्ता गिरीले प्रतिनिधि सभाको अधिवेशनका साथसाथै २८ गते अपरान्ह ४ बजे सम्माननीय राष्ट्रपतिज्युबाट संयुक्त सभालाई हुने सम्बोधन व्यवस्थापनका विषयहरू, प्रतिनिधि सभामा अहिले उपलब्ध कार्यभार र सभाको बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको बताए । समितिले बनाएको कार्यतालिकामा प्रतिनिधि सभाका सदस्यहरुको सुझावहरू समेतका आधारमा परिमार्जन गरेर अन्तिम रुप दिने पनि प्रवक्ता गिरीले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रशारणमा पहिलोपटक साङ्केतिक भाषासमेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिए ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम सम्भावित कार्यतालिका तय गरेर छलफलको लागि वितरण गरेको प्रवक्ता गिरीले बताए । संसदको कामलाई थप व्यवस्थित, पूर्वअनुमानयोग्य र प्रभावकारी बनाउन यसरी अग्रिम कार्यतालिका सार्वजनिक गरिँदै आएको बताए ।
