एमालेले गठन गर्‍यो संसदीय बोर्ड

काठमाडौँ !  नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहनेछन्।

बाँकी १५ सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू रहने गरी संरचना तयार गरिएको छ।