काठमाडौं ! गर्मी र उकुसमुकुसको पर्खाइ तोड्दै नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने भएको छ । हाल दक्षिण भारतको केरला र तमिलनाडुमा आइपुगेको मनसुन बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने क्रममा छ।
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने औसत मिति हो । तर, यस वर्ष भारतमै मनसुन केही ढिला गरी प्रवेश गरेकाले नेपालमा पनि निर्धारित मितिभन्दा केही दिन ढिला हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुनको गति र प्रणालीको सक्रियताले नेपाल प्रवेश गर्ने ठ्याक्कै मिति निर्धारण गर्छ। ‘यही समयमा मनसुन भित्रिन्छ भन्ने यकिन गरी भन्न सकिँदैन। तीन–चार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि/पछि पनि हुनसक्छ।’
यसपालिको मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। मौसमविद्हरूका अनुसार कुनैकुनै क्षेत्रमा अतिवृष्टि (धेरै पानी पर्ने) वा अनावृष्टि (खडेरी पर्ने) हुनसक्ने सम्भावनासमेत छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज हिमाली र पहाडी भूभागसाधारणतया बदली, कोशी, लुम्बिनी, कर्णालीलगायत केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा ‘तातो दिन’ हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
