अब सरकारी काम गराउँदा घुस खुवाउन पर्दैन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले सरकारी कार्यालयमा काम गराउँदा घुस खुवाउन नपर्ने दाबी गरेका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिएको बताए। ‘अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ’, उनले भने।

अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको बताए। ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ।’

राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारीको अपेक्षा गरेको उनले स्पष्ट पारे। ‘राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने अपेक्षा छ’, उनले भने ‘यदि नियोजित रूपमा बेइमानी गरिन्छ भने त्यसमा हामी निर्मम हुनेछौँ।’

अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै उनले आर्थिक अपराधसम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा आर्थिक जरिवानामा केन्द्रित हुने जानकारी दिए।