बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले माग्यो रमेश लेखकलाई थुन्नुको कारण आदेश

काठमाडौं। सर्वोच्च अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले उनलाई पक्राउ गर्नुको कारण लिखित रुपमा माग गर्न आदेश दिएको हो। गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गरेकी थिइन्।

जेनजी आन्दोलनमा दमनमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही आधारमा वर्तमान सरकारले उनलाई शनिबार बिहान पक्राउ गरेको थियो।