काठमाडौं। महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्। शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाइएको हो।
महालेखापरीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ। यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ भने नेपालको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढी हो।
प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ बेरुजु देखिएको छ।
महालेखापरीक्षक रायाका अनुसार लेखापरीक्षणको प्रभावस्वरूप १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भई राजस्व खातामा जम्मा भएको छ भने ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ बराबरको बेरुजु सम्परीक्षण गरिएको छ। प्रतिवेदनमा सुधार नहुँदा उस्तै प्रकृतिका बेरुजु दोहोरिने गरेको उल्लेख गर्दै संसद् र स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ।
