जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन् ।

आज मदन–आश्रितको ३३ औं स्मृति दिवसमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे– ‘अभावहरू झन् गहिरिँदारहेछन् । जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा –सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो ।’

मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको बताउँदै ओलीले त्यस दौरानमा उनको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको जिकिर गरे ।

‘जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं,’ सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै ओलीले भने ।

यस्तै, उनले पछिल्लो दशकमा त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको बताए । उनले मदन भण्डारी–जीवराज आश्रित, र यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज आफूमाझ शारीरिक रूपमा नरहे पनि विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको जिकिर गरे ।

जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ । सोही क्रममा उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभई एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताए ।

उनले भने, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ । प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’