काठमाडौं-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। अध्यक्ष ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि अध्यक्ष ओलीलाई प्रहरीले २०८२ चैत १४ मा पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०८२ चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।
