सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो

काठमाडौं !  सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराउनुभयो । “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उहाँले भन्नुभयो ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौं,” आयोजना प्रमुखसँग उहाँले भन्नुभयो ।