एमाले सुदूरपश्चिम इन्चार्जमा दामोदर भण्डारी : कैलाली इन्चार्जमा कमला ओलीलाई जिम्मेवारी

काठमाडौं ! नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दामोदर भण्डारीलाई दिएको छ । केही दिनअघि सम्पन्न सचिवालय बैठकले भण्डारीलाई उक्त जिम्मेवारी दिएको हो ।

एमालेले अन्य प्रदेशमा पदाधिकारीलाई इन्चार्ज बनाएको भए पनि सुदूरपश्चिम र कोशी प्रदेशमा भने केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएको जनाएको छ ।

यस्तै, पार्टीले जारी गरेको अपानीमार्फत केन्द्रीय सदस्य तथा नेताहरूलाई विभिन्न पालिकामा खटाएको छ । कैलालीको धनगढी, घोडाघोडी र भजनी नगरपालिकामा गौरीशंकर चौधरी र रणबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ ।

गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा सन्तोष थापा, गौरीगंगामा नारदमुनी राना, टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा झपटबहादुर रावल, मोहन्याल गाउँपालिकामा सूर्यबहादुर थापा, लम्कीचुहा नगरपालिकामा पवित्रा तिमिल्सिना, जोशीपुर गाउँपालिकामा द्वारिका न्यौपाने तथा कैलारी गाउँपालिकामा यज्ञ ढुंगानालाई खटाइएको छ ।

कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी भने कमला ओलीलाई दिइएको छ । उनलाई बर्दगोरिया गाउँपालिकाको अतिरिक्त जिम्मेवारीसमेत दिइएको एमालेले जनाएको छ ।