ऐतिहासिक चुनौती पार गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसक्नुभएपछि कार्यक्रमको अध्यक्षता गर्नुभएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष ओलीले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाउनुभएको थियो ।
अध्यक्ष ओलीले पठाएको सन्देशमा दशकौँ लामो आन्दोलनको विरासत बोकेको एमालेले जबजलाई अङ्गिकार गर्दै समृद्ध नेपाल बनाउने गन्तव्य तयार गरेको उल्लेख छ ।
‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धि पनि हासिल गरेको छ । तर पटक–पटक पीडा पनि व्यहोरेको छ । निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले’, अध्यक्ष ओलीले पठाएको सन्देश सुनाउँदै उपाध्यक्ष बादलले भन्नुभयो– नेकपा (एमाले) अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।
त्यस्तै, अध्यक्ष ओलीले आजको समयका चुनौती चिर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।