थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं ! बागमती नदी किनारस्थित थापाथली क्षेत्रका सुकुमबासी बस्ती हटाउने विषयमा सरकारले पुनः सक्रियता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका उच्च अधिकारीहरूलाई तत्काल बस्ती खाली गराउने तयारी गर्न निर्देशन दिएका छन्।

बुधबार साँझ भएको छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहितका अधिकारीहरू सहभागी थिए। छलफलमा प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबारबाट बागमती किनारका बस्ती हटाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको एक उच्च सुरक्षा स्रोतले जनाएको छ।

गृहमन्त्री सुधन गुरुङ को राजीनामापछि गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका शाहले काठमाडौँ उपत्यकाबाट अभियान सुरु गर्ने तयारी गरेका हुन्। यस विषयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग थप समन्वय हुने जनाइएको छ।

थापाथलीसहितका क्षेत्रमा रहेका सुकुमबासी बस्ती लामो समयदेखि विवादको केन्द्रमा रहँदै आएका छन्। यसअघि पनि बस्ती हटाउने प्रयास हुँदा स्थानीयको तीव्र प्रतिरोधका कारण कार्यान्वयन हुन सकेको थिएन। विशेषगरी बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा गरिएको प्रयास असफल बनेको थियो।

विगतमा थापाथली, पेप्सीकोलालगायत क्षेत्रमा बस्ती हटाउने क्रममा झडपसमेत भएको इतिहास रहेको छ। त्यतिबेला तत्कालीन सरकारको असहयोग भएको भन्दै शाहले सार्वजनिक रूपमा आलोचना गर्ने गरेका थिए। उनले रवि लामिछाने र नारायणकाजी श्रेष्ठ लगायतसँग सहयोग मागेका थिए।