आजको मौसम

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।