आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।