वीरगञ्ज भन्सारबाट दुई खर्ब राजस्व संकलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालू आवमा राजस्व संकलन सन्तोषजनक रहेको बताए। उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रुपमा पेट्रोलियम पदार्थको आयात, सवारी साधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन्।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। चालू आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ।