राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीसँग चिनियाँ राजदूतको शिष्टाचार भेटघाट

काठमाडौं ! राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत Zhang Maoming ले शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

भेटमा नेपाल–चीन ऐतिहासिक मित्रता, द्विपक्षीय सम्बन्ध सांस्कृतिक आदानप्रदान, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्नेमा जोड दिनुभएको छ।

भेटका क्रममा उपाध्यक्ष भण्डारीले नेपाल एक चीन नीति प्रति अडिग रहेको कुरा प्रष्ट पार्नुभयो। उहाँले नेपालको विकास प्रयासमा चीनले पुर्‍याउँदै आएको निरन्तर सहयोग र साझेदारीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

उपाध्यक्ष भण्डारीले नेपालको पर्यटन, पुर्वाधार विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ भने राजदूतले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको साथ रहने प्रतिबद्धता व्यक्त गर्दै विश्व शान्तिका लागि मध्यपुर्वमा जारी युद्वको समाधानको लागि चिनले पहल गर्ने विश्वास दिलाउनु भयो।