काठमाडौं ! सभामुख डोलप्रसाद (डीपी) अर्यालले दुई पूर्वसभामुखहरूसँग भेटघाट गरी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने विषयमा परामर्श गरेका छन्। सोमबार बिहान भएको उक्त भेटमा पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सहभागी थिए।
भेटका क्रममा संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियामा सुधार र विगतका अनुभवहरूको आदानप्रदानमा केन्द्रित रहेर छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सङ्घीय संसद्मा विधेयकहरू निर्माण गर्दा आइपर्ने कानुनी र प्रक्रियागत जटिलताहरूलाई पूर्वसभामुखहरूको अनुभवका आधारमा समाधान गर्ने उद्देश्यले यो भेटघाट भएको बुझिएको छ।
संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न ‘अनुभवको हस्तान्तरण’ आवश्यक रहेको भन्दै सभामुख अर्यालले पछिल्लो समय सक्रियता बढाएका हुन्।
