काठमाडौं ! सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने नियम बनाएकाे छ ।
प्रवक्ता मनिष झाका अनुसार आज बसेको सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेको हो रास्वपाले पार्टी स्थापना गर्दा नै विधानमा उम्मेदवार क्लब (क्यान्डिडेट क्लब)को व्यवस्थाबारे उल्लेख गरेको छ ।
विधानको भाग– १९ अन्तर्गत धारा– ६३ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ, जसमा ‘सबै तहको निर्वाचनमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको तोकिएबमोजिम सम्बन्धित तहमा उम्मेदवार क्लब हुने’ भनिएको छ । यसको गठन, अभिलेखीकरण, सञ्चालन, प्रशिक्षण र परीक्षणसम्बन्धी अन्य व्यवस्था नियमावली वा केन्द्रीय समितिले तोकोबमोजिम हुने उल्लेख छ ।
यसअघिको बैठकबाट पार्टी सहमहामन्त्री विपिनकुमार आयार्चलाई उम्मेदवार क्लबका लागि आवश्यक संरचना बनाउन संयोजकको जिम्मेवारी तोकेको थियो । आचार्यले उम्मेदवार क्लबका लागि आवश्यक तयारी पूरा भएको र पार्टीका वडा कमिटीदेखि केन्द्रीय कमिटी, विभाग र आयोगसँग राय लिइएको प्रतिक्रिया दिएका थिए ।
स्थानीय तहका उम्मेदवारलाई पारदर्शी बनाउन रास्वपाले विधानमै उम्मेदवार क्लब र लिडरसिप एकेडेमीको व्यवस्था गरेको हो, जसअनुसार पार्टीका सबै तहका समितिलाई जिम्मेवार बनाउन यसले भूमिका खेल्ने नेताहरूले विश्वास लिएका छन् ।
आजै पार्टी सभापति रवि लामिछानेलाई आचार्य नेतृत्वको समितिले उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदासमेत बुझाएका छन् ।
