काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले कुनै पनि सुकुम्बासीलाई घरबारविहीन नबनाउने बताएका छन् ।
बुधबार सिंहदरबारस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका सुकुम्बासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
लामिछानेका अनुसार लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर अघि बढिरहेको छ । उनले आवश्यक परे थप सजगता अपनाउन सुझाव दिन पनि आग्रह गरे ।
उनले भने, “ढलको छेउमा, बाढीको जोखिममा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे सरकार चिन्तित छ र यो समाधान गर्नु कर्तव्य हो ।”
उनका अनुसार देशभर रहेका यस्ता समस्या समाधानका लागि विशेष आयोग गठन गरी छिटो काम अघि बढाइने तयारी छ । तर यस प्रक्रियामा कसैलाई पनि घरबारविहीन नबनाइने उनले स्पष्ट पारे ।
साथै, उनले सरकारले सबै सुकुम्बासी नागरिकका लागि गास, बास, कपास र रोजगारीका अवसर सुनिश्चित गर्ने दायित्व लिएको बताए ।
लामिछानेले आवश्यक समन्वय र सुझाव स्वागतयोग्य भए पनि यस विषयलाई अनावश्यक राजनीतिकरण नगर्न आग्रह गर्दै जोखिमपूर्ण स्थानमा बसोबास गराएर भोट बैंकको राजनीति गर्नु गलत हुने टिप्पणी पनि गरे ।
