काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आफ्ना प्रशासनिक कामकाज र औपचारिक भेटघाटमा उल्लेखनीय परिवर्तन ल्याएका छन्।
यसअघि जो कोही प्रधानमन्त्री भए पनि प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटघाट र विदेशी राजदूतहरूसँगको बैठक प्रमुख रहन्थ्यो। तर बालेन प्रधानमन्त्री भएपछि पहिलोपल्ट विदेशस्थित राजदूतहरूसँगको सामूहिक भेटघाट सिंहदरबारमै आयोजना गरिएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, बालेनले बालुवाटारमा कुनै पनि औपचारिक बैठक, राजनीतिक भेटघाट वा कार्यक्रम सञ्चालन नगरी सबै प्रशासनिक कार्य सिंहदरबारबाटै संचालन गर्दै आएका छन्। उनी बिहान ८ः३० बजे कार्यालय पुगेर दैनिक कामकारबाही अगाडि बढाउँछन्। यसअघि मन्त्रालयले तोकेको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म लागू भइसकेको छ।
सांसद र मन्त्रीहरूसँग नियमित छलफल गर्दै प्रधानमन्त्रीले क्षेत्रगत समस्या र समाधानका विषयमा ध्यान दिइरहेका छन्। उनी उच्चपदस्थ कर्मचारीहरूसँग पनि नियमित बैठक गरी शासकीय सुधार र कार्यान्वयनमा जोड दिइरहेका छन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्माका अनुसार, बालेन शासकीय सुधारका कदमलाई परिणाममुखी बनाउन केन्द्रित छन्।
प्रधानमन्त्री बालेनले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै मन्त्रीहरूसँग नियमित निर्देशन र छलफल गरिरहेका छन्। उनको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको थियो, जसअनुसार केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका थिए।
सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई सिधै प्रधानमन्त्रीसँग भेट नगरी आफूमार्फत् मात्र काम अघि बढाउन निर्देशन दिएका छन्। यसले पार्टी र प्रशासनबीच स्पष्ट समन्वय कायम गर्न मद्दत पुगेको बताइएको छ।
प्रधानमन्त्री बालेनले प्रशासनिक सुधार, कार्यकुशलता र अनुशासनमा जोड दिँदै आफ्नो कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याएका छन्। सिंहदरबारलाई केन्द्र बनाएर काम गर्दा सरकारी कामकाजको पारदर्शिता र छिटो निर्णय लिन सकिने अपेक्षा गरिएको छ।
