काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला विभागले आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ। “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित हुने सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन गरिएको छ।
आज आयोजित हाइब्रिड सुझाव संकलन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोंग, महिला आयोगकी अध्यक्ष कमला पराजुली, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा पूर्व अध्यक्ष रबिना थापालगायतको विशेष उपस्थिति रहेको थियो।
महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) को सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरन्जीवी खड्काले सम्मेलनको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, महिला अधिकारकर्मी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्मेलन आगामी जनवरीमा काठमाडौंमा आयोजना हुने तय भएको छ। यसको मुख्य उद्देश्य विश्वभर रहेका नेपाली महिलाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव, चुनौती र सफलताका कथा आदान–प्रदान गर्नु रहेको छ।
सहभागीहरूले महिला सशक्तिकरणलाई प्रभावकारी बनाउन नीतिगत सुधार, सीप विकास, वित्तीय पहुँच विस्तार र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, महिलामैत्री नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयदेखि संघीय तहसम्म समन्वय आवश्यक रहेको औंल्याइएको छ।
उद्यमशीलता प्रवर्द्धनका लागि सहुलियतपूर्ण ऋण, बजार पहुँच र प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै, लैङ्गिक हिंसा न्यूनीकरणका लागि कडा कानुनी कार्यान्वयन, जनचेतना अभिवृद्धि र पीडितमैत्री सेवा विस्तार गर्नुपर्ने धारणा राखिएको छ।
मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्दै आवश्यक परामर्श सेवा गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। जलवायु परिवर्तनले ग्रामीण महिलामा पार्ने असरलाई ध्यानमा राख्दै उनीहरूको अनुकूलन क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिइएको छ।
सहभागीहरूले विदेशमा रहेका सफल नेपाली महिलाहरूका अनुभव र सिकाइलाई स्वदेशसँग जोड्नुपर्नेमा विशेष जोड दिएका छन्। यस्ता अनुभव आदान–प्रदानले स्वदेशी महिलालाई प्रेरणा दिनुका साथै उद्यमशीलता र नेतृत्व विकासमा ठोस मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सम्मेलनमा महिला सशक्तिकरण, उद्यमशीलता, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा, मानव अधिकार तथा जलवायु परिवर्तनजस्ता विषयमा व्यापक छलफल हुने जनाइएको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका महिलाहरूको अवस्था, जोखिम तथा पुनःएकीकरणका मुद्दालाई प्राथमिकतामा राखिनेछ।
कार्यक्रममा प्रस्तुत सुझावहरूलाई सम्मेलनको एजेन्डामा समेट्दै ठोस कार्ययोजना निर्माण गरिने आयोजकले जनाएको छ। साथै, सम्मेलनबाट प्राप्त नीतिगत सिफारिसहरू सरकार तथा सम्बन्धित निकायलाई प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार, यो सम्मेलन महिला नेतृत्व विकास, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।
