काठमाडौं । गैरआवासीय नेपाली समम्बन्धी विधेयक परिमार्जनका लागि रचनात्मक सुझाव दिन उपाध्यक्ष रोजिना प्रधान राईले आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उपाध्यक्ष राईले गैरआवासीय नेपालीहरूसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्न सरकारले अघि बढाएको ‘विधेयक २०८३’ लाई एनआरएनए र सम्पूर्ण नेपालीहरूको हित अनुकूल बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रिय पहल सुरु गरेको बताइन् ।
उनले भनिन् ‘परराष्ट्र मन्त्रालयले आगामी संसद अधिवेशनमा पेश गर्ने तयारी गरेको यस विधेयकको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न माननीय परराष्ट्र मन्त्रीज्यूले संघलाई मन्त्रालयमा आमन्त्रण गर्नुभएको थियो। हाल यो मस्यौदा प्रारम्भिक चरणमै रहेकाले यसलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउन परिमार्जनका पर्याप्त अवसरहरू रहेका छन् ।’
गैरआवासीय नेपाली नागरिकताको निरन्तरतासम्बन्धी समिति (सीएनसी) की संयोजक रहेकी रोजिना प्रधान राईले आफू र आफ्नो टिमले विज्ञ समूहसँग सघन परामर्श भइरहेको पनि बताइन् ।
समितिले आवश्यक सुझाव र संशोधनसहितको प्रस्तावलाई अहिले अन्तिम चरणमा पुर्याएको बताउँदै संघका वर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरू समेतले गम्भीरताका साथ संलग्न भई CNC टोलीसँग निरन्तर सहकार्य र मार्गदर्शन प्रदान गरेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीहरूको साझा मुद्दालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिन् ।
उपाध्यक्ष राईले सामाजिक सञ्जालमा आउने अतिरञ्जित वा भावनात्मक प्रतिक्रियाभन्दा पनि औपचारिक र रचनात्मक माध्यमबाट आफ्ना सुझावहरू प्रस्तुत गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरूमा अपिल पनि गरेकी छिन् ।
उनले भनिन् ‘माननीय परराष्ट्र मन्त्रीज्यूबाट प्राप्त सकारात्मक प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै, नकारात्मक टिप्पणीको सट्टा सन्तुलित, तथ्यपरक र समाधानमुखी संवादमा जोड दिनुपर्ने आजको आवश्यकता हो । सकारात्मक सहकार्यका माध्यमबाट मात्रै यो विधेयकलाई गैरआवासीय नेपालीहरूको हकहित र भावना अनुकूल परिमार्जन गर्न सकिन्छ ।’
