काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज बेलुकी ५ बजे बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका छन्। सरकारलाई सहज हुने गरी संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिबाट जारी गराएका प्रधानमन्त्रीले हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत संवैधानिक पद रिक्त रहेका बेला बैठक बोलाएका हुन्।
संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको हो।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न ६ जनामध्ये चार जना सदस्य उपस्थित भए गणपूरक संख्या पुग्नेछ। त्यस्तै, परिषद्ले कुनै पनि निर्णय गर्दा तीन जना सदस्यको बहुमत भए निर्णय गर्न सकिने कानुनी प्रावधान राखिएको छ।
