होटल व्यवसायी महासंघको अध्यक्षमा भण्डारी निर्वाचित

काठमाडौं। होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशनबाट टीआर भण्डारी (शंकर) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले पर्यटन तथा होटल क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए।

महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ।