काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियाअन्तर्गत मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ । मतगणनाबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।
जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन्।
त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरे लाई पराजित गरेका हुन्, जसले ६० मत पाएका थिए।
एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भएका छन्। उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गरेका हुन्।
