एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यवाहक उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर उत्पन्न विवादपछि आकस्मिक रूपमा बैठक बोलाइएको हो ।

सचिवालय बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । केही पदाधिकारीहरूको दबाबपछि बैठक आह्वान गरिएको जनाइएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको स्पष्ट पारेका छन् । त्यस्तै, अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति असन्तुष्टि जनाएका छन् ।

उपाध्यक्ष पौडेलले आजको बैठकले विषयमा गम्भीर छलफल गरी उचित निर्णय लिने अपेक्षा गरिएको बताएका छन् । बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेभित्र आन्तरिक आलोचना तीव्र बन्दै गएको छ ।