प्रधानमन्त्री बालेनले गठन गरे सचिवालय : प्रमुख सल्लाहकारमा कुमार बेन,निजि सचिवमा प्रदीप परियार

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएसँगै बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम गठन सुरु गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उनले सल्लाहकारदेखि प्रशासनिक संरचनासम्मको प्रारम्भिक टिम सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। मेयर पदका लागि चुनाव लड्दादेखि नै शाहसँग नजिक रहेर रणनीतिक सहयोग गर्दै आएका बेनलाई अब केन्द्रीय भूमिकामा ल्याइएको हो। राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्, जसले शाह र रवि लामिछाने नेतृत्वबीच एकता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदिप ढकाल तथा सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्। सरकारी सचिवालयतर्फ सहसचिव प्रदीप परियारले जिम्मेवारी सम्हाल्ने भएका छन्।

राजनीतिक सल्लाहकार असिमका अनुसार बाँकी सल्लाहकारहरू केही दिनमै टुंगो लगाइनेछ। “टिम निर्माण अन्तिम चरणमा छ, छिट्टै सबै नाम सार्वजनिक हुन्छ,” उनले बताए। यसअघि वैदिक विधिअनुसार शपथ ग्रहण गरेका शाह पूजापाठपछि शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासमा सरेका छन्।