भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड काठमाडौंमा : यस्तो छ उनको भ्रमण तालिका

काठमाडौं ! भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाण्डू आइपुगेका छन्। नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएको जनाइएको छ।

बहालवाला प्रधानन्यायाधीश नेपालको औपचारिक भ्रमणमा आएको यो पहिलो पटक भएको अधिकारीहरूले बताएका छन्। चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपालमा रहँदा उनले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा दुई देशका न्यायपालिकाबीच सहकार्यबारे चर्चा गर्ने बताइएको छ। शुक्रवार काठमाण्डू ओर्लिएका प्रधानन्यायाधीश चन्द्रचूडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे।

चन्द्रचूडले शनिवार राजधानी काठमाण्डूमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने नेपालको सर्वोच्च अदालतले जनाएको छ।उनी शनिवार काठमाण्डूमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने ‘न्याशनल सिम्पोजिअम अन जुभिनायल जस्टिस’का मुख्य वक्ता रहेका छन्। उक्त कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।

शनिवारै साँझ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनीबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको उप्रेतीले बताए। त्यसै दिन नेपालका प्रधानन्यायाधीशले भारतका प्रधानन्यायाधीशको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन्।

चन्द्रचूडको भ्रमणका बेलामा नेपाल र भारतको न्यायिक क्षेत्रबीच एउटा समझदारीपत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम रहेको छ। त्यस्तो समझदारी गर्नका लागि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने निर्णय बिहीवारको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको थियो।

दुई देशका सर्वोच्च अदालतबीच हुने समझदारीले न्यायिक क्षेत्रमा पनि सहकार्यको ढोका खोल्ने नेपाली अधिकारीहरूले बताएका छन्। उक्त भ्रमण दलमा भारतका चन्द्रचूडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि आएका छन्। चन्द्रचूड नेतृत्वको भारतीय टोली आगामी आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।