सभामुख अर्याल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं ! प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ ।

उनले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको बताए ।

सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए ।

उनले सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनीतिक सङ्क्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे ।

सभामुख अर्यालले सङ्घीय संसद्का दुवै सदन, संसदीय समिति र मैत्री समूहमार्फत् अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसदीय अभ्यास गरिने प्रतिबद्धता जनाए ।

साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने उनले बताए ।