रोजगारीको ग्यारेन्टी गर्न सांसद चन्दद्वारा ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक

काठमाडौं ! कैलाली क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द बहादुर चन्दले ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक गरेका छन्। उक्त अवधारणा उद्योग वाणिज्य संघ, कैलालीसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो।

‘हब एन्ड स्पोक’ मोडेलमा आधारित यस अवधारणाअन्तर्गत सुदूरपश्चिमका ८८ वटा पालिका, प्रदेश सरकार, ९४ वटा कलेज तथा उद्योग वाणिज्य संघ कैलालीबीच सहकार्य रहनेछ।

कार्यक्रममा बोल्दै डा. चन्दले भने, “२ हजार स्टार्टअप सृजना गरेर २० हजार जनालाई रोजगारी दिने लक्ष्यका साथ हामीले यो प्रस्ताव अघि सारेका छौं।” उनले उद्योग वाणिज्य संघ कैलाली र अध्यक्ष पुष्करराज ओझाले देखाएको सहयोगप्रति आभार पनि व्यक्त गरे।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझाले अन्तरक्रिया अर्थपूर्ण रहेको बताए। उनले भने, “हामीले यस किसिमको पहल सुरु गरिसकेका थियौं। आज प्रतिनिधिसभा सदस्यले त्यसलाई सुदूरपश्चिमव्यापी बनाउने मोडेलसहित छलफलमा ल्याउनु भएको छ। सरकार र निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन सहज हुने देखिन्छ।”

उक्त कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी सहित विभिन्न निकायका सरोकारवालाहरुको उपस्थिति थियो।