काठमाडौं– संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहले आज जवाफ दिने भएका छन्।
प्रधानमन्त्रीको सम्बोधनपश्चात् आजै उक्त नीति तथा कार्यक्रमलाई पारित गर्ने संसद्को तयारी रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सोही कार्यक्रममाथि हिजोको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले आ-आफ्नो धारणा राख्दै छलफल गरेका थिए।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रममाथि बाँकी छलफल अघि बढाइनेछ।
छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्रीले उत्तर दिनेछन्।
त्यसलगत्तै सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र अन्त्यमा पूर्ण नीति तथा कार्यक्रमलाई नै पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
