काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को परोपकार तथा मानवीय सहायता (पीएचए) विभागको प्रमुखमा उपाध्यक्ष रामशरण सिम्खडा चयन भएका छन् ।
यो विभाग मुख्य चारवटा स्तम्भ (पिलर) मा केन्द्रित रहनेछ। जसमा ‘एक एनसीसी एक परियोजना’, ‘एक प्रदेश एक मोबाइल ब्लड बस’, ‘विपद् व्यवस्थापन’ र ‘अर्न एण्ड एजुकेशन’ (बाल शिक्षा परियोजना) रहेका छन्। यी परियोजनाहरू एनआरएनएको मानवीय सेवाको मुख्य आधारका रूपमा रहेको सिम्खडाले बताए ।
विभागको संरचनाअनुसार ‘एक एनसीसी एक परियोजना’ को नेतृत्व सिम्खडा आफैँले गर्नेछन्। यसअन्तर्गत विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई नेपालमा कम्तीमा एउटा ठोस परोपकारी कार्यमा संलग्न गराउने लक्ष्य राखिएको छ।
त्यस्तै, ‘अर्न एण्ड एजुकेशन’ परियोजनाको नेतृत्व पनि सिम्खडाले नै सम्हाल्नेछन्, जसले विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्य लिएको छ।
