काठमाडौं : गैर-आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् ( आइसिसि ) ले २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष रोजिना प्रधान राईलाई एनआरएनहरूको कल्याण विभागको प्रमुख पदमा नियुक्त गरेको छ। उक्त निर्णय हालै सम्पन्न आईसीसी बैठकबाट अनुमोदन गरिएको हो।
नयाँ जिम्मेवारीसँगै उपाध्यक्ष राईले विदेशमा बसोबास गर्ने नेपालीहरूको हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। यस पदमार्फत उनले विश्वभर रहेका नेपाली डायस्पोरालाई असर पार्ने विभिन्न कल्याणसम्बन्धी मुद्दाहरू समाधान गर्न पहल गर्ने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा विभागले नेपाली नागरिकताको निरन्तरता (CNC), गोर्खा सैनिक तथा तिनका परिवारको कल्याण, नेपाली मूलका व्यक्तिहरू (PNOs) को हित संरक्षण, तथा एनआरएनहरूका लागि कानुनी र प्रशासनिक सहयोग प्रणाली विकास जस्ता क्षेत्रमा विशेष ध्यान दिनेछ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै राईले NRNA नेतृत्वप्रति आभार व्यक्त गर्दै विश्वभरका एनआरएन समुदाय, क्षेत्रीय संयोजकहरू तथा सरोकारवालाहरूसँग सहकार्य गरेर विदेशमा रहेका नेपालीहरूको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उनले “नेपालीका लागि, नेपालीद्वारा” भन्ने साझा दृष्टिकोणलाई अघि बढाउँदै संगठनको उद्देश्य प्राप्तिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
