फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ! फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारण सभाको प्रमुख अतिथी पूर्वमन्त्री भगबती चौधरी रहेकी थिइन् ।

सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताइन् ।

राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यहरुलाई सुझाव दिँदै चौधरीले आफूले लिएको कर्जालाई उत्पादन हुने क्षेत्रमा मात्र लगानी गर्न आग्रह गरेकी छिन् । ‘कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण राज्यले मिनाहा गर्न सक्दैन । ऋण मिनाहा गरिदिन्छु भन्ने तत्वहरुको पछि नलाग्नु होला । बरु आफुले लिएको ऋणको सही सदुपयोग गरी उत्पादनमुलक क्षेत्रमा लगाउनुहोला ।’ चौधरीले भनिन् । लघुवित्त क्षेत्रको सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सदस्य ३ वटै पक्ष इमानदार हुनुपर्ने प्रमुख अतिथी चौधरीको विचार थियो ।

कार्यक्रमका विशिष्ट अतिथी गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले फरवार्ड लघुवित्त संस्थाले विपन्न परिवारको आर्थिक उन्नतिमा अझ ठूलो भूमिका खेल्न सक्ने धारणा व्यक्त गरेका छन् ।

सभामा विशेष प्रस्तावका रूपमा वित्तीय संस्थाको हाल कायम पुँजी संरचना संस्थापक समूह र सर्वसाधारण समूह शेयर संरचना क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकामा संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयरलाई कुल चुक्ता पुँजीको १० प्रतिशत विन्दुले सर्वसाधारण शेयर परिवर्तन गरी नयाँ शेयर समूह र सर्वसाधारण समूह क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै वित्तीय संस्थाको पुंजीवृद्धि योजना, प्रबन्धपत्रका दफा तथा नियमावली संशोधन गर्ने तथा अन्य ‘घ’ वर्गका लघुवित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव समेत पारित गरिएको थियो ।

सभाका अध्यक्ष केशवराज पौडेलका अनुसार वित्तीय संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ ।

त्यसै गरी हालसम्म १ लाख २३ हजार ऋणी ग्राहक सदस्यसँग रु. २२ अर्ब २४ करोड १२ लाख ३३ हजार लगानीमा बाँकी रहेको कर्जा रहेको छ । वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट रु.१० अर्ब ७३ करोड ६९ लाख ७६ हजार बचत सङ्कलन गरेको छ । संस्थामा ६९५ कर्मचारी कार्यरत छन् भने तीमध्ये ५० प्रतिशत महिला कर्मचारी रहेको र ग्राहक सदस्यहरूलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ ।