काठमाडौं ! अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष ०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए।
‘प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ। त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ’, मन्त्री डा वाग्लेले भने,‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ। राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्को मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ।’
उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए। ‘यहाँका उद्योगी–व्यवसायीहरूले वर्षाँदेखि हैरानी भएको गुनासो छ। सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ’, डा वाग्लले भने।
उनले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गरे।
