काठमाडौं ! अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग जारी वार्ताबाट अझैसम्म कुनै सहमति नजुटेको बताएका छन्। पाकिस्तानको राजधानी इस्लामाबाद मा भइरहेको शान्ति वार्ताबारे पत्रकार सम्मेलन गर्दै उनले लामो समयको छलफलपछि पनि सम्झौता हुन नसकेको जानकारी दिएका हुन्।
भान्सका अनुसार अमेरिका र इरानबीच करिब २१ घण्टादेखि वार्ता जारी रहे पनि अपेक्षित नतिजा नआएको बताएका छन्। उनले भने, ‘नराम्रो खबर के हो भने हामी अझै सम्झौतामा पुगेका छैनौँ,’ साथै इरानले अमेरिकाका सर्तहरू स्वीकार नगरेको पनि स्पष्ट पारे।
वार्तामा कुनै कमजोरी भए त्यो पाकिस्तानका कारण नभएको उल्लेख गर्दै उनले पाकिस्तानको भूमिका प्रशंसनीय रहेको बताए। उनले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्सल असिम मुनीर प्रति आभार व्यक्त गर्दै ‘उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ’ भने।
शनिबार अपराह्नदेखि सुरु भएको उक्त वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले नेतृत्व गरिरहेका छन्।
यद्यपि वार्ता जारी रहे पनि उपराष्ट्रपति भान्सले सहमतिको सम्भावना न्यून देखिएको संकेत दिएका छन्, जसले आगामी दिनमा अमेरिका–इरान सम्बन्ध थप जटिल बन्न सक्ने आँकलन गरिएको छ।
