उद्योग वाणिज्य महासंघ निर्वाचन : अन्जन पक्ष बलियो उपस्थिति,चन्द्र पक्ष कमजोर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ६० औं साधारण सभा सम्पन्न भएर निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको छ। यो समचार तयार पार्दासम्म जिल्ला, नगर र वस्तुगततर्फको मतपरिणाम सार्वजनिक भएको छ। एसोसिएटतर्फ भने मतगणना जारी छ।

सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष(सपथ लिन बाँकी) अन्जन श्रेष्ठ पक्ष हाबी देखिएको छ। साधारण सभाको मिति घोषणा भएसँगै आफ्नो टिम घोषणा गरेर निर्वाचन प्रक्रियामा होमिएका अध्यक्ष श्रेष्ठ र निर्वतमान अध्यक्ष चन्द्रप्रसाद ढकालबीचको प्रतिस्पर्धा रोचक देखिएको छ। निर्वतमान अध्यक्ष ढकालले निर्वतमान उपाध्यक्ष हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सार्दै उनको टिमलाई समर्थन गरेका छन्।

यता अध्यक्ष श्रेष्ठले भने वरिष्ठ उपाध्यक्षमा औपचारिक रुपमा टिम घोषणा नगरेपनि वस्तुगत, जिल्ला नगर र एसोसिएटतर्फ प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए। श्रेष्ठले वरिष्ठ उपाध्यक्षको रुपमा निर्वतमान उपाध्यक्ष सुरकृष्ण वैद्यलाई अघि सार्ने तयारी गरेका छन्। तर, औपचारिक घोषणा भने उनले गरेका छैनन्। मंगलबार रातीसम्म सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्ष श्रेष्ठले समर्थन गरेको वस्तुगत तर्फको उपाध्यक्ष भने गुमाएका छन्। उनले शिव घिमिरेलाई समर्थन गरेका थिए। तर, ३ भोटको अन्तरमा ढकाल समूहको समर्थन पाएका नरेशलाल श्रेष्ठ विजयी भएका छन्। यता जिल्ला नगरतर्फ भने अध्यक्ष श्रेष्ठको हावी देखिएको छ।

उनको समर्थन पाएका कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। ढकाल पक्षले जिल्ला नगर तर्फको उपाध्यक्षमा उमेश डालमीया र कल्पना गैरेलाई अघि सारेका थिए।

जिल्ला नगरको सदस्यमा अन्जन हावी

जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यमा अध्यक्ष श्रेष्ठको हावी देखिएको छ। १५ जना कार्यकारिणी सदस्यमा १३ जना अन्जन पक्षको देखिन्छ। मतपरिणाम अनुसार अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका हुन्। ती मध्ये निर्वतमान अध्यक्ष ढकालको पक्षबाट निर्वाचित भएका उज्वल प्रसाद कसजु मात्र हुन्।

यस्तै सुर्दशन कार्की दुवै पक्षको टिममा नपरी निर्वाचीत भएका व्यक्ति हुन्। उनि पछि कुन टिम खुल्छन भन्ने हेर्न बाँकी छ। जिल्ला नगरकै महिला सदस्य तर्फ अन्जन पक्षबाट गिता अमात्य र चन्द्रपक्षबाट हीरा भट्टराई निर्वाचित भएका छन्।