उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट : अन्जन श्रेष्ठ अध्यक्ष बन्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोलि) काठमाडौंमा हुने भएको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो ।

आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भोलि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् ।

जिल्ला/नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

जिल्ला/नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेको छ । विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा छ ।

निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ ।