कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबारदेखि जारी बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने जानकारी दिए।

बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ । महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरुमाथि छलफल हुने छ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले बैठकमा आगामी भदौ २४–२६ गतेसम्म १५ औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

कांग्रेसले चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता फारम सबै तहमा पुर्‍याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने, वैशाख १ गतेदेखि मसान्तसम्म सबै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेको छ।

कार्यतालिकामा जेठ १ देखि १५ गतेसम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा क्रियाशील सदस्यता विवरण  बुझाउनुपर्नेछ, क्षेत्र र जिल्लाले इन्ट्री गरेर जेठ २५ गतेसम्म सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने, जिल्लास्तरीय क्रियाशील सदस्यता  प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी केन्द्रमा पठाउने अवधि पनि जेठ मसान्तसम्म छ।  यसैगरी उजुरी परेको खण्डमा असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंगो लगाएर बुझाइसक्नुपर्ने उल्लेख छ। प्रस्तावित कार्यतालिका बर्खाको समयमा परेको भन्दै कार्यकर्ताले आलोचना गर्न थालेका छन्।