अघि बढ्यो नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्ति प्रक्रिया

काठमाडौं ! सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा नयाँ महानिर्देशक नियुक्ति प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले प्राधिकरणको रिक्त रहेको पदपूर्तिका लागि आवेदन आह्वान गर्दै प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया सुरु गरेको हो।

मन्त्रालयले शनिबार सूचना जारी गर्दै नेपाल सरकारको सेवा वा प्राधिकरणभित्र कार्यरत योग्य तथा इच्छुक उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ। सूचनामा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९(१) अनुसार नियुक्ति गरिने उल्लेख गरिएको छ।

यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारी विरुद्ध भ्रष्टाचार आरोप लागेपछि पद रिक्त भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा करिब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा गत १७ मंसिरमा मुद्दा दायर गरेको थियो। त्यसपछि अधिकारी निलम्बनमा परेका थिए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित थप दुई मुद्दा पनि अदालतमा विचाराधीन छन्।

अधिकारी निलम्बनमा परेपछि उपमहानिर्देशक देवचन्द्रलाल कर्ण ले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

सरकारले यसपटक खुला प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्न लागेको भन्दै उड्डयन क्षेत्र सुधार र पारदर्शिता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। लामो समयदेखि नेतृत्व स्थायित्वको अभाव झेल्दै आएको प्राधिकरणमा नयाँ नियुक्तिले संस्थागत सुधारको दिशा तय गर्ने विश्लेषण गरिएको छ।

नेपालको पर्यटन तथा समग्र आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहेको उड्डयन क्षेत्रमा सक्षम नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरिएको छ।