विशेष अदालतले गर्‍यो अनौठो फैसला

काठमाडौं । विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो ।

विशेष अदालतका सदस्य रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा २७ कात्तिक २०७५ मा थापामाथि घुस रिसवतको मुद्दा दायर गरेको थियो । यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २६ माघ २०७८ मा अर्को मुद्दा पनि दायर भएको थियो ।

उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधिवक्ता थापाले पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्तिविरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने सर्तमा उनका बाबुसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । रंगेहात पक्राउ परेपछि सहन्यायाधिवक्ता थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *