काठमाडौं । सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घरसंस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन ।
नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू युवाको उमेर कति हो भन्ने कुरामा एकरूपता छैन ।
युवा नीतिमा १६ देखि ४० वर्षसम्म उमेर भएका नागरिकलाई युवा मानेको भए पनि विभिन्न सरकारी कार्यालयमै युवालक्षित कार्यक्रममा युवाको उमेर फरक–फरक पाइएको छ ।
सरकारी कार्यालयका युवालक्षित कार्यक्रममा नै नीतिमा तोकिएको उमेर समूहभन्दा माथिकालाई समेट्ने गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा वितरण छनोट मापदण्डमा समेत ६० वर्षसम्म उमेर कायम गरिएको छ ।
कोषको उक्त मापदण्डमा १८ देखि ६० वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा संलग्न नभएका बेरोजगार व्यक्तिले यसबाट लाभ प्राप्त गर्छन् भन्ने व्यवस्था गरिएको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।