१५ सय सरकारी वेबसाइट डाउन

काठमाडौं ! मंगलबार साँझ नेपाल सरकार अन्तर्गतका करिब १५ सय बेवसाइट डाउन भएका छन्।  सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सरकारी वेबसाइटहरु डाउन भएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार दिउँसो करिब २ बजे सिंहदरबार र आसपासमा स्थानमा विद्युत प्रवाह गर्ने सबस्टेसनको ब्रेकर पड्किएको थियो । ब्रेकर पड्किएपछि वैकल्पिक व्यवस्था गरेर राष्ट्रिय सूचना प्रविधि केन्द्रमा विजुली प्रवाह गरिएको थियो । जेनेरेटर मार्फत वैकल्पिक व्यवस्था गरिएकोमा लामो समय चल्दा जेनेरेटरले समेत काम गर्न छोडेर केन्द्रमा विद्युत आपूर्ति ठप्प भएको हो ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सबस्टेसनको ब्रेकर पड्किएपनि सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको थियो । केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत दिन नसकिएको उनले बताए। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि राति १० देखि विद्युत् सेवा सुचारु भएको थियो ।

केन्द्रले पनि विद्युत आपूर्ति बन्द भएकोबारे प्रष्टीकरण दिएको छ । केन्द्रले भनेको छ ‘मिति २०८०/०३/०५ गतेका दिन दिउँसो १:३० बजे नेपाल विद्युत प्राधिकरणको सिंहदरवार स्थित K3 सब-स्टेसनको ट्रान्सफर्मरमा रहेको Busbar Short Circuit भई विस्फोट भएकोले यस केन्द्रद्वारा संचालित सरकारी एकीकृत डाटा केन्द्र ( GIDC) मा प्राधिकरणको विद्युत आपूर्ति ठप्प हुन पुग्यो । साथै विहानै देखि विद्युत प्राधिकरणको विद्युत आपूर्ति Fluctuate भएकोले यस केन्द्रको जेनेरेटर बिहानै देखि लगातार संचालन गरिरहनु पर्ने अवस्था थियो । समयमा नै सब-स्टेसनको ट्रान्सफर्मर मर्मत हुन नसके पश्चात यस केन्द्रको जेनेरेट लामो समयसम्म संचालन गरिरहनु पर्ने अवस्था सिर्जना भई जेनेरेटरको पावर केवलमा पनि समस्या उत्पन्न भएको थियो । तत्पश्चात, साझ ७:३० बजे देखि केहि समयका लागि डाटा केन्द्रको सेवा संचालन अवरुद्द भएको थियो । उक्त परिस्थिति निर्माण भएपछि GIDC मा विद्युत आपूर्ति केहि समयका लागि ठप्प हुन पुगी डाटा केन्द्र संचालनमा अवरोध सिर्जना भयो । जसले गर्दा यस केन्द्रबाट संचालित सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरु केहि समयका लागि मात्र अवरुद्द हुन पुगेको र हाल सम्पूर्ण सेवाहरु संचालनमा आईसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *