मौसम : देशभर भारी वर्षा हुँदै

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती प्रायः सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।