आजको मौसम

काठमाडौं !  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ती स्थानमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।