आजको मौसम

काठमाडौँ– हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता, राती भने कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।