यस्तो छ आजको मौसम : रातीबाट पानी पर्ने संभावना

काठमाडौं- आज रातिदेखि पानी पर्ने सम्भावना देखिएको छ । आज राति पश्चिम नेपालमा बढी सम्भावना भएपनि भोलि देशका अधिकांश क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा आज राति हल्का बर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भोलि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी लुम्बिनी सहित गण्डकी प्रदेशका तराई भू-भाग र देशका बाँकी पहाडी भू-भागमा समेत भोलि छिटफुट देखि हल्का बर्षाको पूर्वानुमान गरिएको छ । यो क्रम भोलि रातिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । यो मौसमी प्रणालीको प्रभावले पानी पार्ने सम्भावना बढेको हो ।