काठमाडौँ- पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले गएरातिदेखि मौसममा सुधार हुँदै आएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
हिजो सङ्घीय राजधानी काठमाडौँलगायत देशका अधिकांश भागमा मौसम बदली रहेको र मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको थियो ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उता कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।