यस्तो छ आजको मौसम

काठमाडौँ ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।