आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं ! मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी ३ दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको बिहारको उत्तर पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।

शनिवार राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा तथा १–२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिवारदेखि सोमवारसम्म देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । शहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

आइतवार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २९ गते सोमवार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *